नेपालमा बढ्दै उच्च रक्तचापका बिरामी, २४.५ प्रतिशत वयस्क प्रभावित

अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता र बढ्दो तनावका कारण नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालका २४.५ प्रतिशत वयस्क उच्च रक्तचापबाट प्रभावित रहेका छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार अत्यधिक नुन र चिल्लोयुक्त खाना, धूम्रपान, मद्यपान, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरणका कारण उच्च रक्तचापको जोखिम बढिरहेको हो।

नेपालमा हुने कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको छ। त्यसमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट मात्रै २७.३६ प्रतिशत मृत्यु हुने गरेको तथ्यांक छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन्। तर धेरै मानिस आफ्नो रोगबारे अनभिज्ञ रहने गरेका छन्। उपचार र नियन्त्रण सम्भव हुँदाहुँदै पनि चारमध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको बताइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दैनिक ३० देखि ४५ मिनेट व्यायाम गर्न, धूम्रपान तथा मद्यपानबाट टाढा रहन, पर्याप्त निद्रा लिन र तनाव व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ।