आज देशभर वर्षाको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने

काठमाडौं । देशभरको मौसममा बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा नेपाल आसपास सक्रिय न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम प्रभावित भएको हो।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा बदली रहेको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि आंशिकदेखि सामान्य बदली देखिएको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि विशेषगरी सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा अन्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहने मौसमविद्हरूले बताएका छन्।