वर्षपुस्तककाे अर्धवार्षिक पूर्वसमीक्षा सम्पन्न

धादिङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ का लागि सङ्कलन गरिएका घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम असार ३० गते सम्पन्न भएको छ।

कार्यक्रममा इन्सेक धादिङका जिल्ला प्रतिनिधि सीताराम अधिकारीले सन् २०२५ जनवरीदेखि जुन महिनासम्मको ६ महिनाको अवधिमा जिल्लामा भएका ३८ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको जानकारी दिनुभयो। ती घटनाहरूमा ३८ जना पीडित भएका छन्।

उहाँका अनुसार तीमध्ये

१२ घटना बालअधिकार अन्तर्गत बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार,

७ घटना महिलाविरुद्ध हुने भेदभाव र दुर्व्यवहार अन्तर्गत बलात्कार, बलात्कार प्रयास,

१७ घटना घरेलु हिंसा,

१ घटना कारागारमै मृत्यु, र

२ हत्या रहेका छन्।

कार्यक्रममा विभिन्न वक्ताहरूले मानवअधिकार भनेको नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसँग समेत जोडिएको विषय भएको बताएका थिए।

सो अवसरमा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले दुरदराजका घटना समेत समेटेर तथ्यमा आधारित मानवअधिकार वर्षपुस्तक तयार पार्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले प्रहरी मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताउँदै महिला, दलित, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको विषयलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो।

नेपाल मानवअधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारीले पछिल्ला वर्षहरूमा फौजदारी अपराध घट्दो क्रममा देखिए पनि देवानी प्रकृतिका घटनामा कमी नआएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

दलित सेवा संघ धादिङका अध्यक्ष श्याम मगरातीले मानवअधिकार शिक्षाको अधिकारलाई पनि विशेष जोड दिनुपर्ने भन्दै नीलकण्ठ बालमन्दिर माविमा SEE परीक्षामा प्रायोगिक पूर्णाङ्क कम दिएको विषयलाई मानवअधिकार मुद्दाका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।