काठमाडौ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोग गर्दै ६ हजार केजीभन्दा बढी आलु उत्पादन गरेको छ। कोशी प्रदेश सरकारको १५ लाख रुपैयाँ बजेटमध्ये ७ लाख लगानी गरी सार्वजनिक ६१ रोपनी जमिनमा आलु खेती गरिएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीयको श्रमदान र गाउँपालिकाका मिनीटिलर प्रयोग गरी आलुखेती गरिएको हो।
उत्पादित आलु चिसापानी बजारस्थित कोसेली घरमा भण्डारण गरी सुपथ मूल्य पसलमार्फत प्रतिकेजी ५५ रुपैयाँमा बिक्री भइरहेको छ। हालसम्म १,१०६ केजी आलु बिक्री भइसकेको गाउँपालिकाले जनाएको छ। बाँकी आलु र सानासाना दाना आलु आगामी वर्षका लागि बीउको रूपमा भण्डारण गरिनेछ।
गाउँपालिकाले कृषि उत्पादनलाई प्राथमिकता दिँदै आगामी वर्ष मकै खेतीसहित थप आलुखेती विस्तार गर्ने योजना बनाएको छ।






