धादिङका खेलाडीहरुले केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक सहित उत्कृष्ट प्रदर्शन

काठमाडौं । काठमाडौंमा जारी १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङ जिल्लाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रतियोगितामा धना राहाडी मगर, कोपिला तामाङ र जस्मिना तामाङ सहभागी बागमती प्रदेशको छात्रा कबड्डी टिमले लुम्बिनी प्रदेशलाई ३२–२७ अंकले पराजित गर्दै स्वर्ण पदक जितेको छ।

त्यस्तै, धादिङकै विवश तामाङले तेक्वान्दो एकल पुरुष पुम्से तर्फ स्वर्ण पदक जित्न सफल भएका छन्। थाक्रेका सृजना श्रेष्ठ (पिङ्की) ले ज्याभलिन थ्रोमा तेस्रो स्थान हासिल गर्दै कास्य पदक हात पारिन्।

धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले जिल्लाका खेलाडीहरूले विभिन्न समस्याका बीच पनि निरन्तर मिहिनेत, लगनशीलता र राम्रो नेतृत्वका कारण खेलकुद क्षेत्रमा नयाँ उचाइ हासिल गरिरहेको बताउनुभएको छ। उहाँले हाल धादिङको खेलकुद अवस्था स्वर्ण युगमा प्रवेश गरिरहेको पनि उल्लेख गर्नुभएको छ।

जिल्लाका खेलाडीहरूले विभिन्न खेल विधामा सक्रिय सहभागिता जनाइरहेका छन् भने उनीहरूको सफलताले स्थानिय स्तरमा खेलकुदप्रतिको रुचि र उत्साह थपिएको छ।