धादिङ । धुनिबेसी नगरपालिका क्षेत्रमा रहेका होटल तथा किराना पसलमा गरिएको बजार अनुगमनमा विभिन्न अनियमितता फेला परेको छ। अनुगमन टोलीले पाँच होटललाई जरिवाना गरेको छ भने म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा होटलहरूमा बिना दर्ता व्यवसाय सञ्चालन, म्याद गुज्रेका वस्तु बिक्री, बिल नबनाउने, सरसफाइमा लापरवाही तथा सामानमा बढी मूल्य लिएको पाइएपछि जरिवाना गरिएको हो।
अनियमितता भेटिएका होटलहरूमा आँदीखोला होटल, न्यू आँदीखोला होटल, ग्रीन गार्डेन होटल, साथीभाइ खाजाघर एन्ड होटल र फास्ट एन्ड इजी क्याफे रहेका छन्। ती होटलहरूलाई क्रमशः ५० हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको जानकारी गराइएको छ।
अनुगमन टोलीले बजार अनुगमनलाई अझ प्रभावकारी बनाउँदै लैजाने र उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणमा कडाइ गरिने जनाएको छ।