देशभर वर्षा, चार प्रदेशमा भारी पानीको सम्भावना

काठमाडौ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने र कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, यीमध्ये कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने जनाइएको छ।

राति पनि यस्तै अवस्था कायम रहने र यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि विभागले जनाएको छ।

मौसमविद्का अनुसार, हाल कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र बाँकी प्रदेशहरूमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकोले देशभर बदली र वर्षा भइरहेका छन्। पश्चिमी वायु अझ बलियो रहेको कारण मनसुन पूर्वबाट पश्चिम सर्न सकेको छैन।

वर्षाको मात्रा कति भन्ने विभागले यसरी वर्गीकरण गरेको छ :
१० मिमि भन्दा कम — हल्का वर्षा
१० देखि ५० मिमि — मध्यम वर्षा
५० देखि १०० मिमि — भारी वर्षा
१०० देखि २०० मिमि — धेरै भारी वर्षा
२०० मिमि भन्दा बढी — अति भारी वर्षा

चट्याङसँगैको वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ।