काठमाडौ । काठमाडौंमा सम्पन्न १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागमती प्रदेशले समग्र उपाधि जितेको छ। बागमतीले ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदक जित्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्यो।
सुदूरपश्चिम प्रदेश १४ स्वर्ण, २० रजत र १८ कांस्यसहित दोस्रो स्थानमा रहँदा लुम्बिनी प्रदेशले ५ स्वर्ण, १३ रजत र १५ कांस्य हात पारेर तेस्रो स्थानमा चित्त बुझायो।
तीन दिनसम्म चलेको प्रतियोगितामा ६८६ खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो लगायतका ६ खेलमा प्रतिस्पर्धा गरेका थिए। यस अवसरमा ९ वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान पनि कायम भएको छ।
प्रत्येक कीर्तिमान बनाउने खेलाडीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा जम्मा १२ लाख रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजकले जानकारी दिएको छ।
पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।