अन्तर्राष्ट्रिय खबर । अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको ७८७-८ ड्रीमलाइनर विमान बिहीबार दिउँसो दुर्घटना हुँदा २४१ यात्रु र चालकदलका सदस्यसहित २७० जनाको ज्यान गएको छ। विमान उडेको केही समयमै दुर्घटनामा परेको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु हुनुका साथै खसेको स्थानमा रहेका स्थानीय बासिन्दाहरूको समेत ज्यान गएको छ। अहिले सम्म २७० वटा शव फेला परिसकेको बताइएको छ।
विमान अहमदाबाद विमानस्थलबाट उडेपछि जम्मा ३० सेकेन्ड हावामा रहेको सीसीटीभी फुटेजमा देखिएको छ। त्यसपछि विमान अस्पताल र सरकारी भवन भएको क्षेत्रमा खसेको पुष्टि भएको छ।
ब्ल्याक बक्स फेला
दुर्घटनास्थलबाट शुक्रबार दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला पारिएको छ। यसबाट दुर्घटना हुनु अघिका अन्तिम क्षणका संवाद र प्रविधि जानकारी पत्ता लगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
चरा ठोक्किएको आशंका
दुर्घटनाको कारणबारे आधिकारिक अनुसन्धान सुरु भइसकेको छ। प्रारम्भिक अनुमानमा विमानमा चरा ठोक्किँदा इन्जिन फेल भएको हुन सक्ने आशंका गरिएको छ। भारतीय उड्डयन विज्ञ मोहन रंगनाथनका अनुसार अहमदाबाद विमानस्थल क्षेत्रमा चराहरूको बाक्लो उपस्थिति रहँदै आएको छ। उनले भने, “विमानस्थल वरपर चराहरू सधैँ देखिन्छन्। यस्तो सम्भावना समेत नकार्न सकिँदैन।”
गुजरात राज्यमा पछिल्ला पाँच वर्षमा ४६२ वटा विमान-चरा ठोक्किने घटना भएका छन्, जसमध्ये अधिकांश अहमदाबाद विमानस्थलमा भएका हुन् भन्ने जानकारी भारतीय नागरिक उड्डयन मन्त्रालयले गत वर्ष संसदमा दिएको थियो।
दुर्घटना बारे थप अनुसन्धान जारी
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अध्ययन र प्राविधिक परीक्षण जारी रहेको बताइएको छ। उड्डयन प्राधिकरण र सुरक्षा निकायहरू दुर्घटना स्थलमा पुगेर अनुसन्धान कार्यमा खटिएका छन्।
एयर इन्डिया ड्रीमलाइनरको पहिलो घातक दुर्घटना
सन् २०११ देखि व्यावसायिक सेवामा प्रवेश गरेको ७८७-८ ड्रीमलाइनर विमानको यो पहिलो घातक दुर्घटना हो।