अन्तरास्ट्रिय खबर । अमेरिकामा पछिल्ला दिनहरूमा नागरिकता त्याग्ने अमेरिकीहरूको संख्या उल्लेख्य रूपमा बढिरहेको छ। विशेषगरी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि सत्तामा फर्किएसँगै देशको राजनीतिक अवस्था अस्थिर बनेपछि नागरिकहरू अन्य देशमा बसाइँ सर्ने प्रयासमा लागेका छन्।
बेलायतको गृह कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२५ को जनवरीदेखि मार्च महिनासम्म १,९३१ अमेरिकी नागरिकले बेलायती नागरिकता लिन आवेदन दिएका छन्। यो संख्या सन् २००४ यताकै उच्च हो। पछिल्लो तीन महिनामा मात्र यसमा १२ प्रतिशत वृद्धि भएको छ।
ट्रम्प पहिलो कार्यकालमा सत्तामा हुँदा र कोभिड-१९ महामारीको समयमा पनि यस्तै प्रवृत्ति देखिएको थियो। सन् २०२० को पहिलो छ महिनामा मात्रै ५ हजार ८ सयभन्दा बढी अमेरिकीले आफ्नो नागरिकता त्यागेका थिए।
राजनीतिक अस्थिरता मात्र नभई कर प्रणाली, स्वास्थ्य सुविधा र सामाजिक वातावरणबाट असन्तुष्ट भएका नागरिकहरू क्यानडा, अष्ट्रेलिया र युरोपेली देशतिर सर्न चाहेका छन्। सन् २०२५ मा मात्रै बेलायत बसाइँ सर्ने अमेरिकीको संख्या ५,५०० नाघ्ने अनुमान गरिएको छ।
यता, युरोपेली देशहरू पनि आप्रवासन नीतिमा कडाइ गरिरहेका छन्। बेलायतका प्रधानमन्त्री केयर स्टाररले नयाँ आप्रवासी नियम ल्याउने घोषणा गरेका छन् भने इटालीले पुर्खाको आधारमा नागरिकता दिने व्यवस्था अन्त्य गर्ने निर्णय गरेको छ।