डा. विश्व पौडेलविरुद्ध राष्ट्र बैंक गभर्नर नियुक्ति रोक्न सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियासम्बन्धी विवाद चुलिँदै गएको छ। अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउने तयारी भइरहेका बेला, उनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ को प्रावधान विपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर नियुक्त गर्ने प्रयास भएको दाबी गर्दै रिट दायर गरेका हुन्। रिटमा राजनीतिक दलसँग आवद्ध व्यक्तिलाई गभर्नर नियुक्ति गर्न नमिल्ने कानुनी व्यवस्था रहेको उल्लेख छ।

संसदीय निर्वाचन २०७९ मा डा. पौडेल नेपाली कांग्रेसबाट चितवन १ मा उम्मेदवार बनेका थिए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. पौडेललाई गभर्नर बनाउने सहमति जुटेको समाचार सार्वजनिक भएको थियो।

त्यसयता उनले गभर्नर सिफारिस समिति सदस्य पदबाट राजीनामा पनि दिइसकेका छन्। अधिवक्ताहरूले नियुक्ति प्रक्रिया अघि नबढाउन आग्रह गर्दै सर्वोच्चमा रिट दिएका हुन्।

यसअघि पनि अधिवक्ता उप्रेती र थापाले गभर्नर नियुक्ति र उमेर हद संशोधनविरुद्ध रिट दायर गर्दै आएका थिए।