सिङ्ल्हा पर्यटन महोत्सव सम्पन्न

धादिङ । उत्तरी धादिङको सिङ्ल्हा क्षेत्रमा पहिलो पटक आयोजना गरिएको पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा धार्मिक पूजाआजा, झाँक्री नाच, बौद्ध धर्मअनुसारका अनुष्ठान र विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

बुद्ध जयन्तीको अवसर पारेर गरिएको सो महोत्सवमा विभिन्न जिल्लाबाट पाहुना तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रह्यो। कार्यक्रममा बोन धर्मगुरु तेन्जिङ लामा, स्थानीय अगुवा पासाङ तामाङ, सामाजिक अभियन्ता छोइकी लामा, पत्रकार सुरज गुरुङ, बुद्धिजीवी साङ्बो तामाङ, युवा प्रतिनिधि मिलन लामा, शिक्षक पुन्य तामाङलगायतको उपस्थिति थियो।

महोत्सवको क्रममा झाँक्री नाच, तामाङ सेलो, बौद्ध धर्मअनुसारको पूजा तथा हिमाली भेषभूषामा सजिएका सांस्कृतिक झाँकी प्रदर्शन गरियो। सहभागीहरूले सिङ्ल्हा क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यस्तो कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए।

सिङ्ल्हाबाट गणेश हिमाल, लाङटाङ र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस क्षेत्रमा पर्यटक बढाउन यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

शिङ्ला पर्यटन क्षेत्र समजका अध्यक्ष मङ्ग तामाङले सिङ्ल्हा क्षेत्रमा पहिलो पटक आयोजना भएको पर्यटन महोत्सव सफल पार्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।