दिल्लीस्थित नेपाली दूतावासको आग्रह: आपतकालीन अवस्था आए सम्पर्क गर्नु

काठमाडौ । भारतको जम्मू-कश्मीरको पहलगाम क्षेत्रमा भएको एक आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको अवस्था तनावपूर्ण बनेको छ। वैशाख ९ गते भएको सो हमलामा २५ भारतीय नागरिक र एक नेपालीको ज्यान गएको छ।

परिस्थितिलाई ध्यानमा राख्दै भारतमा बसोबास तथा काम गरिरहेका नेपालीहरूलाई सतर्क रहन र सुरक्षा सावधानी अपनाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ। दूतावासले आपतकालीन अवस्थामा नजिकको सुरक्षित स्थानमा बस्न र भारत सरकारका आधिकारिक निकायद्वारा जारी सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। साथै, कुनै अप्रिय घटना वा समस्या परेमा तुरुन्त दूतावासको आपतकालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

आक्रमणको जिम्मा ‘द रेसिस्टेन्स फ्रन्ट (TRF)’ नामक समूहले लिएको छ। घटनापछि भारतले ७ मे २०२५ मा ‘अपरेसन सिन्दूर’ नामक कारबाही थालेको र पाकिस्तान नियन्त्रित क्षेत्रमा रहेका केही आतंकी शिविरमाथि हवाई हमला गरेको भारतीय पक्षले जनाएको छ। पाकिस्तानले भने ती हमलालाई आपत्तिजनक भन्दै स्थिति तनावग्रस्त बनाएको छ।

जम्मू-कश्मीरको सीमावर्ती क्षेत्रमा निरन्तर गोलीबारी र ड्रोन आक्रमणका घटनाहरू भइरहेका कारण दुवै मुलुकबीचको अवस्था अझै संवेदनशील बनेको छ।