नीलकण्ठ नगरपालिकाको १२ औं स्थापना दिवस सम्पन्न

धादिङ, २५ वैशाख। धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाले बिहीबार १२ औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ।

नगर प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा रुद्राक्षको बिरुवा रोपेर उद्घाटन गरिएको थियो।

स्थापना दिवसको अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति, प्रजाप्रतिष्ठान, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरूले सेवा प्रवाहमा जनताको पहुँच बढाउन र समावेशी योजना ल्याउन स्थानीय सरकारलाई आग्रह गरेका छन्।

कार्यक्रममा नगरपालिकाका गतिविधि र आगामी योजना सार्वजनिक गर्दै प्रमुख ढुंगानाले नगरपालिकाबाट ११० वटा कानूनी संरचना निर्माण, ९५ किलोमिटर चक्रपथको कच्ची बाटो निर्माण, सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा, मेयर उद्यमशीलता कार्यक्रममार्फत सहुलियत कर्जा, स्वास्थ्य सेवाको सुदृढीकरण, खानेपानी, पहिरो सूचना प्रणाली, फोहोर व्यवस्थापन तथा विपद् पूर्वतयारी योजना लागू गरिएको जानकारी दिनुभयो।

स्थापना दिवसको अवसरमा फुटसल, क्रिकेट, बुद्धिचाल, ब्याडमिन्टनजस्ता मैत्रीपूर्ण प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।