काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेताहरू पछिल्लो समय नेपाल भ्रमणमा सक्रिय देखिएका छन्। केही दिनअघि मात्र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमण सकेर फर्किएका थिए भने पछिल्लो पटक भाजपा नेता भगतसिंह कोश्यारी नेपाल आएका छन्।
नेपाल आइपुगेका कोश्यारीले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रमेश लेखकसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटवार्तामा दुई देशबीचको सीमा सुरक्षासम्बन्धी विषयमा विशेष चर्चा भएको जनाइएको छ।
पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेपछि कोश्यारीले कांग्रेस निकट केही नेताहरूसँग समेत भेट गरेका थिए। पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव चुलिंदै गएको र पहलगाममा भएको आतंकवादी घटनापछि नेपाल–भारत खुला सीमाको विषयमा चासो बढेको छ।
इपिजी (प्रबुद्ध व्यक्ति समूह) भारत पक्षका संयोजक समेत रहेका कोश्यारीले गृहमन्त्री लेखकसँग सीमा सुरक्षाको अवस्था र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार साटासाट गरेका थिए।
नेपाल भ्रमणका क्रममा कोश्यारीले दुबै देशबीचको सम्बन्ध अझ सकारात्मक दिशातर्फ लैजानुपर्ने धारणा व्यक्त गरेका छन्।