काठमाडौं । ट्रेड टावर लिमिटेडले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कुल जारी पूँजीको ४८.६९६ प्रतिशत बराबरको सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ। जसमा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९ कित्ता सेयर छुट्याइएको छ। यो आवेदन वैशाख २२ गतेसम्म दिन सकिनेछ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन ‘सी–आस्वा’ सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।
यस कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले “ICRA NP BB– (डबल बी माइनस)” रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ माघ ७, २०८२ सम्म मान्य हुनेछ।