काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले धर्म र संस्कृतिले विश्वभरिका मानिसहरूलाई एउटै परिवारमा बाँध्न सहयोग पुर्याउने बताएका छन्।
धौलागिरी एडभेन्चर ट्रेकिङ प्रालिको आयोजनामा तथा मौलिका फिल्म्सको सह-आयोजनामा सम्पन्न संस्कृति आदानप्रदान तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले बौद्धमार्गीहरूलाई बुद्ध जन्मस्थल लुम्बिनी अवश्य भ्रमण गर्न आग्रह गरे।
डा. लामाले लुम्बिनी क्षेत्रको तीव्र विकासका लागि अस्ट्रेलियाली समुदायको सहकार्यप्रति आभार व्यक्त गर्दै बुद्धस्थलहरू — कपिलवस्तुको तिलौराकोट र रामग्राम — लाई विश्वस्तरमा प्रवर्द्धन गर्ने प्रतिवद्धता जनाए।
“विश्वमा द्वन्द्व र अहिंसाको चुनौती बढ्दै गएको अवस्थामा संस्कृतिको आदानप्रदानले मानव समाजमा शान्ति र मैत्रीको विकास गरिरहेको छ,” डा. लामाले भने।
उनले लुम्बिनीमा निर्माण भइरहेका अन्तर्राष्ट्रिय मठ तथा मन्दिरहरूलाई विविध देशका वास्तुकला र धार्मिक शैलीको प्रतीकका रूपमा रहेको बताए।
कार्यक्रममा डा. लामाले अस्ट्रेलियाको ग्रेट स्तुपमार्फत बौद्ध धर्म प्रचारप्रसारमा योगदान पुर्याउने इयान ग्रीनलाई विशेष सम्मान समेत प्रदान गरेका थिए।
सो अवसरमा वन तथा वातावरण राज्यमन्त्री रूपा विक, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत कैलाशराज पोखरेल, बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ तथा आयोजक संस्था धौलागिरी एडभेन्चर ट्रेकिङ प्रालिका अध्यक्ष आंगकामी शेर्पाले पनि आ–आफ्ना धारणा राखेका थिए।