काठमाडौं, वैशाख १ । आजबाट विक्रम संवत् २०८२ को सुरुवात भएको छ। नयाँ वर्षको पहिलो दिनलाई देशभर विविध कार्यक्रम, शुभकामना आदानप्रदान र धार्मिक आस्थासहित हर्षोल्लासपूर्वक मनाइँदैछ।
सूर्यले मीन राशि समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन परेकाले आजको दिनलाई वैशाख सङ्क्रान्ति अथवा मेष सङ्क्रान्ति पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष माधव भट्टराईका अनुसार सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् वैज्ञानिक आधारमा आधारित छ।
“विक्रम ६० संवत्सरमध्ये एक हो र यो सूर्यसँग सम्बन्धित भएकाले विक्रमादित्य संवत् भनिएको हो,” भट्टराईले बताए। “यसमा शक संवत्का विशेषता र इश्वी संवत्का व्यावहारिक गुण समावेश गरिएका छन्।”
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्।
नयाँ वर्षको अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, मठ–मन्दिरमा पूजा अर्चना गर्ने, मिठा परिकार बनाउने र आफन्त तथा साथीभाइसँग शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ। विदेशमा रहेका नेपालीहरूले पनि नयाँ वर्षलाई विशेष महत्वसाथ मनाउने गर्दछन्।
यद्यपि, चन्द्रमान अनुसार नयाँ संवत्सर भने यसअघि नै, चैत १७ गतेदेखि सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले सुरु भएको सिद्धार्थी नामक संवत्सर ६० संवत्सरमध्ये ५३ औं हो।