काठमाडौ । आज चैत शुक्ल नवमीका दिन हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर रामनवमी पर्व मनाइरहेका छन्। पौराणिक मान्यतानुसार, त्रेतायुगमा आजकै दिन अयोध्यामा भगवान् श्रीरामको जन्म भएको हो।
यो पर्वमा रामजस्तो मर्यादित, अनुशासित र कुशल शासकको स्मरण गरिन्छ। परम्पराअनुसार, श्रद्धालुहरूले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसी रामगीता पाठ गर्ने गर्दछन्।
विशेषगरी मिथिला क्षेत्र, अर्थात् जनकपुरधाममा यो पर्वको महत्व अझ बढी छ। आज जनकपुरस्थित रामजानकी मन्दिरमा मेला लागेको छ, जसमा नेपालभित्रका साथै भारतबाट समेत हजारौँ श्रद्धालु सहभागी छन्। ती श्रद्धालुहरूले गङ्गासागरमा स्नान गरी मन्दिरमा पूजा गर्छन्।
रामनवमीको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।