नेपाली साहित्यका उज्ज्वल नक्षत्र लीलबहादुर क्षेत्रीको निधन

काठमाडौ । नेपाली साहित्यका ख्यातिप्राप्त लेखक लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा बिहीबार राति भारतको गुवाहाटीमा निधन भएको छ। उहाँको असामयिक निधनले नेपाली साहित्य जगत शोकाकुल बनेको छ।

सन् १९३३ मार्च १ मा भारतको शिलङमा जन्मिनुभएका क्षेत्रीले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको थियो। विस्थापन, पहिचान र समाजको वास्तविकतालाई उजागर गर्ने उहाँको लेखनी मन छुने खालको थियो। उहाँको प्रसिद्ध उपन्यास बसाइँ नेपाली साहित्यको कालजयी कृति मानिन्छ, जसले नेपाली समुदायको विस्थापनको पीडा मार्मिक रूपमा प्रस्तुत गरेको छ।

क्षेत्रीका अन्य चर्चित कृतिहरूमा ब्रह्मपुत्रका छेउछाउ, अतृप्त, दोबाटो लगायत रहेका छन्। ब्रह्मपुत्रका छेउछाउ उपन्यासका लागि उहाँले सन् १९८७ मा साहित्य अकादमी पुरस्कार प्राप्त गर्नुभएको थियो। नेपाली साहित्यमा पुर्‍याएको योगदानका लागि नेपाल सरकारले सन् २०१६ मा जगदम्बा-श्री पुरस्कार प्रदान गरेको थियो भने भारत सरकारले सन् २०२० मा उहाँलाई पद्मश्री सम्मान प्रदान गरेको थियो।

क्षेत्रीले नेपाली समाजलाई नजिकबाट अध्ययन गर्दै साहित्यलाई सामाजिक परिवर्तनको माध्यम बनाउनु भएको थियो। उहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ।

साहित्यप्रेमीहरूले उहाँको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका कृतिहरूले सधैं प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।