धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्वारा आयोजित “शहीद/बेपत्ताको आँगनीमा भेटघाट” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शहीद सप्ताहको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका भरिका १८ जना शहीद र २ जना बेपत्ता व्यक्तिहरूको घरदैलोमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै सम्मान गरिएको थियो।
शहीद परिवारका सदस्यहरू, स्थानीय नेताहरू तथा पार्टी कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा द्वन्द्वकालका शहीद तथा बेपत्ताहरूको योगदानबारे छलफल गरिएको थियो। सहभागी नेताहरूले शहीदहरूले देखाएको मार्गदर्शनलाई पछ्याउँदै समृद्धि, समानता र समाजवादी लक्ष्य हासिल गर्न संघर्ष जारी राख्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, प्रदेश सह-सचिव विजय बुर्लाकोटि, त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल, नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाका अध्यक्षहरू लगायत माओवादी केन्द्रका वडा तथा पालिका कमिटीका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।