बागमती साहित्य महोत्सव फागुन १६ र १७ गते धादिङबेसीमा हुने

धादिङ— बागमती प्रदेश स्तरीय बागमती साहित्य महोत्सव आगामी फाल्गुन १६ र १७ गते धादिङबेसीमा हुने भएको छ। प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा हुन लागेको यो महोत्सवमा ११ वटा प्यानल छलफल, एक काव्य सन्ध्या, एक गजल सन्ध्या, र एक सृजनात्मक सत्र समावेश गरिने छ।

आयोजक समितिले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्दै वागमती सभ्यताको संरक्षण महोत्सवको मुख्य उद्देश्य रहेको छ।

महोत्सवमा ख्यातिप्राप्त साहित्यकार, समालोचक, कलाकार, र अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ। विभिन्न प्यानल छलफलमा स्थानीय भाषा, साहित्य, महिला लेखन, पर्यावरणीय साहित्य, अध्ययन संस्कृतिको अवस्था, समालोचनाको वर्तमान अवस्था लगायतका विषयहरू उठान गरिनेछ।

यसैगरी, महोत्सवमा लोकसंस्कृति प्रस्तुति, पुस्तक प्रदर्शनी तथा विभिन्न प्रकाशन गृहहरूको सहभागिता रहने आयोजकले जनाएको छ।