नीलकण्ठ र सिद्धलेकबीच मैत्रीपूर्ण कबड्डी प्रतियोगिता फागुन ७ गते धादिङ बेसिमा हुने

धादिङ । प्रजातन्त्र दिवसको अवसरमा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाबीच मैत्रीपूर्ण कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा जिल्ला कबड्डी संघ धादिङको व्यवस्थापनमा फागुन ७ गते प्रतियोगिता सञ्चालन गरिने छ। खेलकुद विकास समितिको कार्यालय परिसरमा रहेको कभर्डहलमा हुने प्रतियोगितामा दुबै पालिकाका खेलाडीहरूको सहभागिता रहनेछ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार कबड्डी खेलको प्रवर्द्धन तथा स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। “स्थानीय खेलाडीहरूको क्षमतालाई निखार्ने र कबड्डी खेललाई थप लोकप्रिय बनाउने हाम्रो लक्ष्य हो,” तामाङले भने।

प्रतियोगितामा विजयी टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ। आयोजक समितिले खेलकुदको विकास तथा स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

यस प्रतियोगिताले धादिङमा कबड्डी खेलको महत्त्व बढाउने र खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।