प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौ । बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।
बुधबार साँझ सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच बालुवाटारमा राष्ट्रिय सभा चुनाव, समसामयिक राजनीतिक घटनाक्रम र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।
यसअघि सत्ता गठबन्धनका कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो। उनीहरूबीच माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा कुराकानी भएको थियो।

सत्ता गठबन्धनको छलफल सकिएलगत्तै अध्यक्ष ओली बालुवाटार पुगेका हुन्। सत्ता गठबन्धनका नेताहरूबीच बिहीबार बिहान पनि छलफल गर्ने सहमति छ।

एमालेलाई पनि राष्ट्रिय सभा चुनावमा सिट दिने गरी कांग्रेस र माओवादीबीच छलफल भएको थियो।
राष्ट्रिय सभामा १९ सिट रिक्त हुने भएपछि चुनाव गर्न लागिएको छ। त्यसका लागि पुस २३ गते मनोनयन दर्ताको कार्यक्रम छ। उम्मेदवारी दर्ताको समय नजिकिएसँगै सत्ता गठबन्धनका दलका शीर्ष नेता सिट बाँडफाँटका विषयमा निरन्तर छलफलमा जुटेका छन्।