भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल भ्रमणमा आउने भएका छन् । ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी हुन उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भारतीय वायु सेनाको विशेष विमानबाट आज बिहान १० बजे विदेशमन्त्री जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएकोे छ । उनी दुई दिन नेपाल बस्ने कार्यतालिका छ । २०४४ सालमा गठित परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको चौथोपटक हो ।
नेपालमा–भारत लगानीमा सञ्चालित विभिन्न परियोजनामा भएका प्रगतिको समीक्षा, दुई मुलुकका नेतृत्वबीचको सम्बन्ध मजबुत बनाउने र सम्बन्धका नयाँ बाटो खोल्ने यस बैठक आयोजना गर्ने पालो नेपालको थियो । संयुक्त आयोगले द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्छ र आवश्यक निर्णयहरू गर्न अधिकार दिएको छ ।
विदेशमन्त्री जयशंकरको विदेश भ्रमणमा खासगरी विद्युत् व्यापार सम्झौतालगायत दुई मुलुकबीच सहमति हुने बताइएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार जयशंकरको भ्रमणका क्रममा मुख्य तीनवटा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । महाकाली सन्धिमा रहेको पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेगरी डीपीआर घोषणा गर्ने, भारतले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावट विद्युत् खरिद गर्ने र भारतीय दूतावासले ‘साना विकास परियोजना’ ९एसडीपी० कार्यक्रममार्फत सिधै परिचालन गर्न पाउने रकमलाई बढाउने सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।