चिसो मौसममा पनि डेंगुको जोखिम : सचेत रहन आग्रह

काठमाडौँ । नेपालमा पछिल्लो समय चिसो मौसममा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा. अर्जुन भट्टका अनुसार अस्पतालमा दुई जना डेंगुका बिरामी उपचाररत छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्याङ्कले गत वर्ष यता चिसो मौसममा पनि डेंगुको रिपोर्ट शून्य नभएको देखाउँछ ।

‘१८ देखि २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा लामखुट्टेको वृद्धि विकास हुँदैन भन्ने छ,’ इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले भने, ‘तर पछिल्लो समय चिसो मौसममा पनि फाट्टफुट्ट डेंगुको केस देखिन्छ ।’

इडीसीडीको तथ्याङ्कमा मङ्सिर १५ देखि २९ गते बिचमा २ सय ९१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय योभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको छ । यसो हुनुमा जलवायु परिवर्तन मात्रै नभइ लामखुट्टेले आफूलाई तापक्रम अनुसार बाँच्न सक्ने क्षमता विकास गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

पहाडी र हिमाली क्षेत्रमा पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको डा. शरद वन्तको भनाइ छ । ‘पहिला पाँच हजार फिटको उचाइभन्दा माथि डेंगु लाग्दैन भनिन्थ्यो,’ उनले भने, ‘सो उचाइमा डेंगु सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो, हाल हिमाली जिल्लामा पनि डेंगु देखिन थालेको छ ।’

‘पहिला सिजनमा मात्रै देखिने कतिपय रोग बिस्तारै बाह्रै महिना देखिन थालेको छ, जसमा डेंगु पनि पर्छ,’ डा. पुनले रातोपाटीसँग भने, ‘गर्मीमा मात्रै देखिने झिंगा करिब २ डिग्री सेल्सियस तापक्रममा भेटिएको छ, रोग सार्ने किराले चिसो सहन सक्ने क्षमता विकास गरेको भेटेको छु, डेंगु सार्ने लामखुट्टेले पनि आफूलाई चिसो अनुकुल बनाइसकेको छ ।’
डेंगु सार्ने लामखुट्टे गर्मीमा बढी सक्रिय हुन्छन् । चिसो बढेसँगै डेंगुको संक्रमण केही घटे पनि निल नहुने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । ‘डेंगु सार्ने भेक्टर वा सम्वाहक गर्मीमा बढी सक्रिय हुन्छन्,’ उनले भने, ‘चिसो मौसममा डेंगु हुँदै नहुने होइन तर केही कम हुन्छ ।’
पहाडी र हिमाली क्षेत्रमा पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको डा. वन्तको भनाइ छ । ‘पहिला पाँच हजार फिटको उचाइभन्दा माथि डेंगु लाग्दैन भनिन्थ्यो,’ उनले भने, ‘सो उचाइमा डेंगु सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो, हाल हिमाली जिल्लामा पनि डेंगु देखिन थालेको छ ।’
गर्मीमा लामखुट्टेको टोकाइबाट जोगिन आम मानिसले बढी चासो दिए पनि चिसोमा खासै ध्यान नदिँदा डेंगुको संक्रमण हुने जोखिम बढ्ने डा. वन्तको अनुमान छ ।
५१ हजारभन्दा बढीमा डेंगु संक्रमण
२०७९ पुस यता देशभर ५१ हजार २ सय ४३ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगुका कारण २० जनाको मृत्यु भइसकेको छ । हाल देशका १६ जिल्लामा पाँच सयभन्दा बढी संख्यामा डेंगु संक्रमित छन् । सबैभन्दा बढी सुनसरीमा १६ हजार १ सय ७५ जनामा डेंगु संक्रमित छन् । त्यस्तै, तनहुँमा ७ हजार १ सय ९३, झापामा ३ हजार ८ सय २५, धादिङमा ३ हजार २ सय ३९, कास्कीमा ३ हजार ६९ डेंगु संक्रमित छन् ।
यस्तै, मोरङमा २ हजार ३ सय २८, काठमाडौँमा २ हजार ७६, संखुवासभामा १ हजार १ सय ५५ जना संक्रमित छन् । कैलालीमा ९ सय ९४, गोरखामा ७ सय ६१ जना संक्रमित छन् । भक्तपुरमा ६ सय ३०, धनकुटामा ६ सय ५, पाँचथरमा ५ सय ६४, ललितपुरमा ५ सय ४३, बाग्लुङमा ५ सय ४० र स्याङ्जामा ५ सय २ जना डेंगु संक्रमित छन् ।
देशका ७७ जिल्लामै डेंगु संक्रमित रहेको इडीसीडीको तथ्यांकमा उल्लेख छ ।
डेंगु कसरी सर्छ ?
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । गर्मी याममा बढी सक्रिय हुने एडिस जातको लामखुट्टे पछिल्लो समय चिसोमा पनि हुन थालेको डा.पुनले बताए । एडिस जातको लामखुट्टेले संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने उनको भनाइ छ ।
पखाला पनि डेंगुको लक्षण
डेंगु हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरु, आँखाका गेडी र टाउको दुख्ने, शरीरमा राता बिमिराहरु आउने, वाकवाकी लाग्ने …