आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्। भारतीय विदेशमन्त्री एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी तीनदिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण शुक्रबारदेखि सुरु भई आइतबारसम्म चल्नेछ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार तथा लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार र जनस्तरका सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ।

मन्त्रालयले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।