कोरोना संक्रमणको कारण ३ महिना पछि नेपालमा १ जनाको मृत्यु

काठमाडौ । नेपालमा करिब तीन महिनापछि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीर अस्पतालमा उपचाररत् ७८ वर्षीय वृद्धको संक्रमणका कारण मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उमेश बोगटीले सेतोपाटीलाई जानकारी दिएका छन्।

‘अस्ति शनिबारदेखि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौं। आज बिहान पौने पाँच बजेतिर उहाँको मृत्यु भयो,’ उनले भने।

संयोजक बोगटीका अनुसार ती वृद्ध गत चैत १९ गते अस्पताल भर्ना भएका थिए। भर्ना हुन आउँदै उनमा गम्भीर निमोनियाको समस्या देखिएपछि अस्पतालले सुरूदेखि नै आइसियूमा राखेर उपचार गरेको थियो। तर आइसियूमा पनि सुधार नभएपछि गत शनिबारदेखि भने उनलाई भेन्टिलेटरमा राखिएको थियो।

‘भर्ना हुन आउँदै उहाँमा निमोनिया बढी देखिएपछि आइसियूमा राखेर उपचार सुरू गर्‍यौं तर सुधार देखिएन। अक्सिजनको मात्रा झनझन् बढी चाहिएपछि गत शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौं,’ संयोजक बोगटीले भने।

मृतक वृद्ध पहिलेदेखि नै मधुमेहका रोगी थिए। जसले गर्दा संक्रमण भएपछि थप जटिलता देखिएको डाक्टर बोगटी बताउँछन्। उनले मृतकको शव आजै बिहान नेपाली सेनालाई दाहसंस्कारका लागि जिम्मा दिइएको जनाए।

सरकारको प्रोटोकल अनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार नेपाली सेनाले गर्नुपर्ने हुन्छ।

यो घटनासँगै नेपालमा तीन महिनापछि नेपालमा कोरोना संक्रमणबाट व्यक्तिको मृत्यु भएको छ। पछिल्लोपटक गत पुस २३ गते संक्रमणका कारण एक जनाले ज्यान गुमाएका थिए।

पछिल्लो समय भारतमा संक्रमण फैलिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको छ। सरकारले पनि नेपालमा पछिल्लो सातायता संक्रमणको जोखिम बढेको औंल्याउँदै सतर्क रहन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here