डेङ्गुको प्रकोप फैलिए संगै बजारमा सिटामोलको अभाव

काठमाडौं । डेङ्गुको प्रकोप फैलिएका बेला बजारमा प्यारासिटामोलको अभाव देखिएको छ । अहिले देशका विभिन्न स्थानमा डेङ्गीको संक्रमण तीव्र रूपमा फैलिएको छ ।
डेङ्गुको संक्रमण फैलिँदा देशैभर प्यारासिटामोलको पनि अभाव भएको छ । तर सरकारी अधिकारीहरू बजारमा प्यारासिटामोलको अभाव नरहेको दाबी गरेका छन् । सरकारी तथा निजी औषधि उत्पादकहरूले पनि प्यारासिटामोलको अभाव रहेको कुरा अस्विकार गरेका छन् ।
तर उपभोक्तले अतिआवश्यक प्यारासिटामोल बजारमा सहजै नपाइरहेको गुनासो गर्दै आएका छन् । सरकारी अधिकारीहरूले बजारमा प्यारासिटामोलको कृत्रिम अभावमात्रै गरिएको त्यसमा संलग्नलाई कारबाही गरिने बताएका छन् ।
औषधि उत्पादक तथा विक्रेताले डेङ्गीको संक्रमण फैलिँदा देशैका बजारमा अहिले प्यारासिटामोलको माग निकै बढेको बताउँछन् । उनीहरूका अनुसार बढेको माग धान्न औषधि उपलब्ध नहुँदा प्यारासिटामोल अभावको अवस्था आएको हो । उनीहरू माग र आपूर्तीबीच सन्तुलन नहुँदा प्यारासिटामोल अभाव भएको जस्तो देखिएको दाबी गर्छन् ।
प्यारासिटामोलको मूल्य बढाउनुपर्ने माग गर्दै आएका उत्पादकहरूले उत्पादन घटाएर कृत्रिम अभाव गराएको हुन सक्ने दाबी सरकारको छ ।
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्ज्वलजङ्ग पाण्डेले बजारमा प्यारासिटामोलको अभावै भएको दाबी गरे । ‘अप्राकृतिक मागका कारणले गर्दा यस्तो अभावको सिर्जना भएको हो’, पाण्डेले भने । सरकारले कृत्रिम रूपमा उत्पादक कम्पनीले नै प्यारासिटामोलको अभाव गराएको हुनसक्ने दाबी गर्दा नेपाल औषधि उत्पादक सङ्घले सरकारी दाबी असत्य रहेको बताएको छ । पाण्डले भने, ‘उत्पादक कम्पनीले जानाजान अभाव गरेको छैन् ।’
२०६४ सालमा प्यारासिटामोलको मूल्य समायोजन भएको थियो । त्यसपछि मूल्य समायोजन गर्नुपर्छ भन्ने माग औषधि उत्पादक सङ्घको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले प्यारासिटामोल औषधि अभाव भएको गुनासो आएपछि औषधि व्यवस्था विभागको समन्वयमा उत्पादन बढाउन पहल गरिएको बताए । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले अभावको गुनासो आएपछि विभागले उत्पादक र आयातकर्तासँग छलफल गरेको बताए ।
नेपालमा कोरोना महामारीअघि वार्षिक रूपमा सातदेखि आठ करोड चक्कीसम्म प्यारासिटामोलको माग रहेको थियो । महामारीका बेला तीन गुणासम्म माग बढेको थियो । अहिले पनि वार्षिक १० करोड चक्की जतिको माग रहेको औषधि उत्पादकहरू बताउँछन् । विभागका अनुसार नेपालमा ३२ वटा उद्योगले प्यारासिटामोल उत्पादनको अनुमति लिएका छन् । तर सात÷आठ वटा कम्पनीले मात्र उत्पादन गरिरहेको छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन गरिरहेको छ । लिमिटेडका अधिकारीहरूका अनुसार मागको करिब २० प्रतिशत लिमिटेडको उत्पादनले धान्छ ।
अहिले विदेशबाट भने नेपालमा प्यारासिटामोलको खासै आयात नभएको अधिकारी र व्यवसायीको भनाइ छ । नेपालमा करिब तीन दर्जन आयातकर्ताले प्यारासिटामोल प्रकृतिका औषधि आयातको अनुमति पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here