नेपाल र चीन बिच भर्चुअल माध्यममा अनलाइन साहित्य सम्मेलन सम्पन्न

कला/साहित्य । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू अनलाइनका माध्यमबाट सहभागी भएका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रेसम मार्गको अवधारणा साङ्केतिक भए पनि यसले आर्थिक, सामाजिक एवम् राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । चिनियाँ लेखक सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठान विश्वसनीय समकक्षी संस्था भएको भन्दै उनले यी दुई संस्थाबीच सन् २०१३ मा समझदारी पत्रमा हस्ताक्षर भएयता साहित्यिक भ्रमण आदानप्रदान, अन्तक्र्रिया एवम् अनुवादका कामले गति लिएको भन्दै खुसी व्यक्त गरे । सन् २०१७ मा चीनमा सम्पन्न प्रथम चीन–दक्षिण एसिया साहित्य सम्मेलनको दोस्रो संस्करण नेपाल प्रज्ञा–प्रतिष्ठानले सन् २०१९ मा गरेको थियो ।

कार्यक्रममा चिनियाँ लेखक सङ्घका अध्यक्ष थाइ निङले नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबीचको संयुक्त पहलबाट दुई देशबीच साहित्यिक आदानप्रदानमा टेवा पुगेको बताए । कोरोना महामारीका कारण केही समय स्थगित जस्तै रहेको द्विपक्षीय साहित्यिक आदानप्रदानले अब गति लिने उनले विश्वास व्यक्त गरे । 

उक्त कार्यक्रममा नेपालका तर्फबाट प्राडा अभि सुवेदी, प्राडा योगेन्द्रप्रसाद यादव, प्राडा रुद्र पौडेल, प्राडा कृष्णचन्द्र शर्मा र उपप्राध्यापक महेश पौड्यालले गोष्ठीपत्र प्रस्तुत गरे भने चीनका तर्प बाट निङ खन, चाङ छिङह्वा, लिउ चियान, पेई था, वाङ लिउछीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

सो अवसरमा एक सयभन्दा बढी नेपाली कविता समेटिएको कविता सङ्ग्रहको चिनियाँ संस्करण सार्वजनिक गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानले अङ्ग्रेजी भाषामा अनुवाद गरेको ‘दि भ्वाइस अफ नेपाल’ नामक उक्त कृतिलाई चिनियाँ लेखक सङ्घले चिनियाँ भाषामा अनुवाद एवम् प्रकाशन गरेको हो । जम्मा १३ चिनियाँ कविका ६५ ओटा रचना समेटिएको उक्त कृतिका अनुवाद डा. प्रदीप केसीले गरेका हुुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here