शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक किताबखानाअनुसार शिक्षक जागिर छोड्ने क्रम वृद्धि

काठमाडौँ । सामुदायिक विद्यालयका १ सय १४ स्थायी शिक्षकले गत माघमा राजीनामा दिएर जागिर छाडे । त्यही महिना १ सय २२ शिक्षक अनिवार्य अवकाशमा गए । यो तथ्यांकले उमेर हदलगायत कारणले अनिवार्य अवकाश पाउने र स्वैच्छिक जागिर छाड्ने शिक्षकको संख्या लगभग उस्तै छ । 

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक किताबखानाअनुसार विगतका वर्षको तुलनामा राजीनामा दिने स्थायी शिक्षकको संख्या अस्वाभाविक रूपमा बढ्दो छ । गत आर्थिक वर्षमा ७ सय ९७ जना शिक्षकले राजीनामा दिएकामा चालु आवको ६ महिना (पुससम्म) मा एक हजार २५ जनाले स्वैच्छिक राजीनामा दिए । एमाले, कांग्रेस र माओवादीलगायत ठूला पार्टीका महाधिवेशन र नजिकिँदो स्थानीय निर्वाचनका कारण शिक्षकले राजीनामा दिने क्रम बढेको किताबखानाका कर्मचारीहरू बताउँछन् । ‘राजीनामा दिएर पेन्सनपट्टा बनाउन आउने शिक्षकलाई किन राजीनामा दिनुभयो भनेर सोध्छौं,’ किताबखानाका प्रमुख रामराज खकुरेलले भने, ‘आफ्नै गाउँ ठाउँमा बसेर समाजसेवा गर्ने विचार आयो भन्ने शिक्षकहरू धेरै हुनुहुन्छ ।’ राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधि वा कार्यकारी पदमा छानिएका र स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका शिक्षकले राजीनामा दिएको उनले सुनाए । निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत शिक्षक राजनीतिक दलको सक्रिय सदस्य वा कार्यकारी भूमिकामा रहन नहुने आदेश दिएको छ । उक्त आदेशका कारण पनि शिक्षकहरू दबाबमा परेको हुन सक्ने खकुरेल बताउँछन् ।
राजनीतिमा आबद्ध हुन राजीनामा दिने शिक्षकहरू भने अधिकांश सेवा अवधि पूरा गरेर पेन्सन सुविधा पाउने खालका छन् । स्थानीय तहले पेन्सनका लागि सेवा अवधि पूरा गरेका शिक्षकलाई जागिर छाड्न विभिन्न सुविधा र अवसर दिने गरेका छन् । पुराना शिक्षक हटाएर नयाँ शिक्षक राख्ने रणनीतिअनुसार पालिकाहरूले १ लाखदेखि ५ लाखसम्म नगदै सुविधाका कार्यक्रम पनि घोषणा गरेका छन् । नियमित पाउने सेवा सुविधाबाहेक पालिकाले छुट्टै दिने आकर्षक रकमका कारण पनि शिक्षकहरूले जागिर छाड्न थालेको खकुरेलले जनाए ।
पालिकाहरूले तय गरेको दरबन्दी मिलानमा असन्तुष्टि जनाएर सेवा अवधि बाँकी हुँदै राजीनामा दिने शिक्षकको संख्या पनि उत्तिकै छ । नेपाल शिक्षक महासंघले त स्थानीय तहले पूर्वाग्रही तरिकाले शिक्षक सरुवा र दरबन्दी मिलान गरेको आरोप लगाउँदै त्यसलाई रोक्नुपर्ने माग राखेको छ ।

देशभरका सामुदायिक विद्यालयमा १ लाख ७ हजार ८ सय ६० स्थायी शिक्षक दरबन्दी रहेको किताबखानामा रेकर्ड छ । त्यसमध्ये रिक्त करिब साढे १७ हजार स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले प्रक्रिया सुरु गरेको छ । आयोगले आगामी चैतमा सञ्चालन गर्ने खुला पदपूर्तिको परीक्षामा सहभागी हुन २ लाख ३४ हजार ५ सय ९४ जनाले आवेदन दिएका छन् । वार्षिक ३ हजारदेखि साढे ३ हजार शिक्षकले अनिवार्य अवकाशसहित विविध कारण जागिर छाड्ने गरेको विगतको तथ्यांक छ । चालु आर्थिक वर्षको ६ महिनामा भने २ हजार ८ सय शिक्षकले जागिर छाडिसकेका छन् । १ हजार ५ सय ७५ जनाले अनिवार्य अवकाश र १ हजार २५ जनाले राजीनामा दिएका छन् भने २ सय जनाको मृत्यु भएको किताबखानाले जनाएको छ ।
गत वर्ष २ हजार ३ सय ५६ शिक्षकले अनिवार्य अवकाश पाएका थिए भने २ सय ७ जनाको मृत्यु भएको थियो । राजीनामा दिनेको संख्या ७ सय ९७ मात्र थियो । यो वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा जानुपर्नेको संख्या २ हजार ६ सय ९३ मात्र रहेको छ । अवकाशमा जाने शिक्षकको संख्यासँगै पेन्सनपट्टा लगायत कागजात बनाउनुपर्ने शिक्षकको संख्या बढ्दै गएको छ । तर किताबखानाको सेवामा ढिलासुस्ती हुने गरेको पूर्वशिक्षकको गुनासो छ । महासंघले किताबखानाको दरबन्दी दोब्बर पारेर छिटोछरितो सुविधा दिनुपर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here