बोराङको मुक्राप देवी मा.वि’मा बैशाख देखि रोकिएको तलव शिक्षकले पाउने बाटो खुल्यो

धादिङ । रूबीभ्याली गा.पा का जनप्रतिनिधि र शिक्षकहरु बीच आन्तरिक कुरामा सामान्य विवाद भएको कारण गएको असार देखि रोक्का राखेको धादिङको रुवीभ्याली गाउँपालिका- ४ बोराङ स्थित रहेको मुक्रापदेवी माध्यमिक विद्यालयको बैंक खाता  फुकुवा भएको छ ।

लामो समय देखी रोक्का राखेको बैंक खाता फुकुवा भएसँगै विद्यालयका शिक्षक र कर्मचारीले दशैको मुखमा बैशाख देखि रोकिएको पारिश्रमिक पाउने बाटो समेत खुलेको छ ।

रूबीभ्याली गाउँपालिकाले बैंक खाता रोक्का गरिदिँदा विद्यालयमा कार्यरत १९ जना शिक्षक तथा कर्मचारीले गएको बैशाखदेखि तलब पाएका थिएनन् ।

गाउँपालिका र विद्यालय व्यवस्थापन समिति अध्यक्ष ,प्रधानाध्यापकको विवाद अदालतमा पुगेको र गाउँपालिकाले रोक्का राखेको मुक्रापदेवी माविको बैंक खाता गाऊँपालिकाले फुकुवा गरिदिएको थिएन ।

विभिन्न अनलाइन मिडियाहरुले एकै साथ समाचार प्रकाशन भएपछि उक्त गलत कदम सच्याउन गाउँपालिकामाथि चौतर्फी दबाब बढेको थियो ।
यसै बीच असोज २२ गते गाउँपालिकाले शिक्षा समितिको बैठक राखेर विद्यालयको खाता फुकुवा गर्ने निर्णय गर्दै ग्लोबल आईएमई बैंक सेर्तुङलाई बन्द खाता खोलिदिन अनुरोध गर्दै पत्र पठाएर आफ्नो गल्ती सच्याएको हो ।

गत असार ६ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार गोलेले रुवीभ्यालीको सेर्तुङमा रहेको ग्लोबल आईएमई बैंकलाई गाउँ शिक्षा समितिको २०८० असार ६ गतेको निर्णय भन्दै विद्यालयको बैंक खाता रोक्का गर्न पत्र लेखेका थिए । सोही पत्रका आधारमा बन्द भएको बैंक खाता असोज २४ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजाराम खतिवडाले पत्र पठाएर खोल्न अनुरोध गरेका हुन् ।

रूबीभ्याली गाउँपालिका र विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकबीच भएको विवादसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक तीर्थराज सुवेदी, शिक्षक ऋषिराम खनाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिष तामाङलाई निलम्बन गरेकोमा उच्च अदालत पाटन ललितपुरले पालिकाको निर्णय कार्यान्वयन नगर्न नगराउन असोज १० गते अन्तरिम आदेश जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here