एजेन्सी । एक पछि अर्को क्षेप्यास्त्र परीक्षण गरिरहेको उत्तर कोरियाले आफूले मङ्गलवार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ।
ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।
उनीहरूले नयाँ क्षेप्यास्त्र ‘रणनीतिक हतियार’ भएको जनाएका छन्। जस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।
मङ्गलवारको परीक्षणले कडा प्रतिबन्धका बीच पनि प्योङयाङ अस्त्र विकास र निर्माणको कामलाई निरन्तरता दिएको थप सङ्केत गरेको छ।
विज्ञापन
“यो हतियार प्रणालीको विकासले हरेक कोणबाट देशको आत्मरक्षा क्षमतालाई थप वृद्धि गरेको छ,” उत्तर कोरियाको सरकारी मुखपत्र कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।
यो उत्तर कोरियामा एकै महिनाभित्र भएको तेस्रो क्षेप्यास्त्र परीक्षण हो। यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।
उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ। त्यसअघि पनि उसले बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।
हाइपरसोनिक क्षेप्यास्त्र के हो ?
साधारण क्षेप्यास्त्र भन्दा हाइपरसोनिक क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमताका हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने समाचार संस्था एएफपीले जनाएको छ।
परीक्षणबाट यो ‘क्षेप्यास्त्रको गन्तव्यमा नियन्त्रण स्थिरता’ को पुष्टि गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उल्लेख गरेको छ।




























