अन्तत माधव नेपाल नेतृत्वको पार्टीले पायो वैधता

काठमाडौं, भदौ–९, निर्वाचन आयोगले एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको पार्टी, नेकपा (एकीकृत समाजवादी) लाई दर्ता गर्ने निर्णय गरेको छ।
आयोगले केही बेर अघि यस्तो निर्णय गरेको हो। आयोगका प्रबक्ता राजकुमार श्रेष्ठले दल दर्ता गरेर प्रमाणपत्र दिने निर्णय भएको बताए।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ बमोजिम दल दर्ता गरी दर्ताको प्रमाणपत्र समेत प्रदान गरेको छ।
नयाँ दर्ता भएको दलको केन्द्री कार्यलय काठमाडौंको नयाँ बानेश्वरमा हुने विवरण निर्वाचन आयोगमा उल्लेख गरिएको छ।

उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् । यद्यपि दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ ।
नेकपा एमालेले आफूले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांसद र कर्णालीका प्रकाश ज्वालामध्ये १० जना केन्द्रीय सदस्य भएको र उनीहरुको सनाखत गर्न नहुने भनेर निवेदन दिएको थियो । आयोगमा यसबारे पनि छलफल भएको थियो । नयाँ दल दर्ताका लागि ५५ जनाको सनाखत भएको र १० जनालाई घटाउँदा पनि अध्यादेशअनुसार दल दर्ता हुने देखिएको आयोगको निर्णय छ ।
यस्तै २९ जना संघीय संसदले पनि नेकपा एकीकृत समाजवादी रोजेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । मंगलबार मात्र दल एकीकृत समाजवादीमा आउन निवेदन दिएका चार जनाले भने सनाखत गर्न पाएनन् । उनीहरुको हकमा आयोगले उपयुक्त निर्णय गर्ने विश्वास दिइएको नेता पाण्डेले बताए ।
अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।
एमालेका अन्य ४ जना सांसदहरुले समेत नयाँ पार्टीको पक्षमा रहेको भनेर निवेदन दिए पनि आयोगले उनीहरुलाई सनाखतमा समावेश गरेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here