पेट्रोलको भाउ अझै बढ्न सक्ने; अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर भए पनि नेपालमा किन बढिरहेको छ ?

काठमाडौ- केही समययता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिरजस्तो देखिएको छ।

अलिअलि तलमाथि भइरहे पनि तत्काल नेपाली बजारमा प्रभाव पर्नेगरी त्यहाँ मूल्य वृद्धि नभएको नेपाल आयल निगम स्वयंले पनि स्वीकारेको छ। तर केही सातादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेकोबढ्यै छ।

अहिले कच्चा तेलको मूल्य प्रतिब्यारल – अर्थात् प्रति १५९ लिटर – ७० डलरको हाराहारी छ।

गत वर्ष असारमा ३८ डलरजति रहेको मूल्य यो वर्षको जेठमा ७२ सम्म पुगेको थियो।

के हो नेपाल आयल निगमको बाध्यता?

उसोभए विगत केही सातामा नेपाल आयल निगमले किन लगालग तेलको भाउ बढाइरहेको छ त?

नेपाल आयल निगमले घरेलु बजारमा निर्धारण गर्ने मूल्य उसको एकमात्र आपूर्तिकर्ता भारतीय आयल निगमले पाक्षिक रूपमा दिने मूल्यसूचीमा भर पर्ने गर्छ।

“अगस्ट १ तारिख दिएको सूचीबमोजिम हामीलाई १५ दिनमा १ अर्ब १५ करोड रुपैयाँ घाटा हुने अवस्था थियो। अहिले पछिल्लो मूल्य समायोजनपश्चात् पनि १५ दिनमा ९६ करोड रुपैयाँ घाटा हुने अवस्था छ,” निगमका प्रवक्ता विनित उपाध्यायले बताए।

सोमवार मध्यरातदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलमा प्रति लिटर दुई-दुई रुपैयाँ अनि ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढाएको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल प्रति लिटर ११३ रुपैयाँ अनि खाना पकाउने ग्यास प्रतिसिलिन्डर १४५० रुपैयाँ पुगेको छ।

निगमले यसअघि भाउ बढाएको डेढ महिना पनि भएको थिएन।

“अझै पनि पेट्रोलमा निगमलाई प्रतिलिटर ८.४२ रुपैयाँ, डीजलमा २.६४ रुपैयाँ अनि खाना पकाउने ग्यास मा ४२० रुपैयाँ घाटा छ,” उपाध्यायले भने।

पन्ध्र दिनमा पेट्रोल र डीजलमा १९/१९ करोड अनि ग्यासमा ६२ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

“निगमको घाटा निरन्तर रहने अनि डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भइरहने हो भने आगामी दिनमा पनि मूल्य समायोजन गर्नुपर्ने बाध्यता देखिन्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here