एलन मस्क द्वारा ट्वीटर खरीद गर्न ४३ अर्ब डलरको प्रस्ताव

अन्तरास्ट्रिय खबर । विश्वकै अग्रणी अर्बपति एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्वीटर खरीद गर्ने निर्णय गरेका छन्।

टेस्ला र स्पेसएक्सका मालिक मस्कले ट्वीटर खरीद प्रतिशेयर ५४.२० डलरको प्रस्ताव पत्र ट्वीटरका अध्यक्ष ब्रेट टेलरलाई बुधबार पठाएका छन्।
न्युयोर्क टाइम्सकाअनुसार ट्वीटरमा हाल सबैभन्दा बढी शेयर (९.२ प्रतिशत) मस्कसँग छ। जबकी ट्वीटरका संस्थापक ज्याक डर्सीको २.२५ प्रतिशतमात्रै शेयर छ। मस्कले प्रस्ताव गरेको शेयर मूल्यअनुसार कम्पनीको लागत करिब ४३ अर्ब डलर पुग्नेछ। बीबीसीले भने ४१ अर्ब डलरको योगफल निकालेको छ। यो मूल्यमा मस्कले ट्वीटर खरीद गर्न चाहेका हुन्।
मस्कले ट्वीटरका अध्यलाई लेखेको प्रस्ताव पत्रमा अहिलेकै स्वरुपमा कम्पनी चल्न नसक्ने र ट्वीटरलाई एक निजी कम्पनीमा परिणत गरेर प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरेका छन्। वर्तमान संरचनामा कम्पनी आफ्नो सामाजिक दायित्व पूरा गर्न नसक्ने र अगाडि पनि नबढ्ने मस्कको ठहर छ।
उनले आफ्नो प्रस्तावलाई सबैभन्दा उत्तम र अन्तिम प्रस्ताव भनेका छन्। यसलाई स्वीकार नगरेमा आफूले भएको शेयर पनि बेचेर बाहिरिनेबारे सोच्नुपर्ने उल्लेख गरेका छन्।
ट्वीटर कम्पनीले मस्कको प्रस्तावमाथि समीक्षा हुने प्रतिक्रिया दिएको छ।