अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक सुधारोन्मुख

काठमाडौं, कात्तिक १४। अर्नब चक्रवातको प्रभाव क्रमशः कमजोर बन्दै गएपछि देशभरको मौसममा सुधार हुन थालेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो सूचना जारी गर्दै देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको जनाएको हो।

महाशाखाका अनुसार हाल कोसी, बागमती र मधेस प्रदेशमा सामान्यतया बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोसी र बागमती प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मात्र वर्षा भइरहेको मौसमविद् निष्ठा निरौलाले जानकारी दिएकी छन्।

बंगालको खाडीमा विकसित शक्तिशाली अर्नब चक्रवात भारत प्रवेश गर्ने क्रममा त्यसको प्रभाव नेपालमा समेत परेको थियो। बिहीबार रातिदेखि देशका विभिन्न स्थानमा लगातार वर्षा तथा हिमपात भएको थियो।

चक्रवातको प्रभावका कारण जनजीवन प्रभावित हुनुका साथै कतिपय स्थानमा सडक यातायातसमेत अवरुद्ध भएको छ। उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात र वर्षा भएको थियो।

मौसमविद्का अनुसार अब चक्रवातको अवशेषको प्रभाव क्रमशः कम हुँदै गएकाले आगामी समयमा मौसम थप सुधार हुने अपेक्षा गरिएको छ।

स्रोत : मौसम पूर्वानुमान महाशाखा

#HorizonKhabar #WeatherUpdate #ArnabCyclone #NepalWeather