भदौ महिनाको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुँदै

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पुरस्कार असोज १ गते घोषणा हुने भएको छ।

आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका लागि १ लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता१० लाख रुपैयाँका २ जना बम्पर विजेता छनोट गरिनेछ। यसरी कुल ३३ जनाले पुरस्कार पाउनेछन्।

भदौ १ देखि १५ गतेसम्मको कारोबारबाट १५ जना र भदौ १६ देखि ३१ गतेसम्मको कारोबारबाट १६ जना दैनिक पुरस्कारका लागि छनोट हुनेछन्। दुवै अवधिबाट एक–एक जना गरी दुई जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन्।

पुरस्कारका लागि १ सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। अनलाइनबाट गरिएको कारोबार प्रणालीमा स्वतः समावेश हुने विभागले जनाएको छ। नगद कारोबारबाट बिल लिएका उपभोक्ताले भने विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा बिल दर्ता गरी कुपन लिनुपर्नेछ।

पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने भएकाले १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जित्नेले कर कटाएर १ लाख रुपैयाँ र १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसअघि साउन महिनामा पनि ३३ जना उपभोक्ता करदाता प्रोत्साहन पुरस्कारका लागि विजेता बनेका थिए।