अविरल वर्षाले देशभर वितण्डा : एउटै जिल्लामा १० जनाको मृत्यु

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै परेको लगातारको वर्षाले बाढी, पहिरो र भूक्षयको जोखिम बढाएको छ। वर्षाका कारण विभिन्न जिल्लामा मानवीय क्षतिसँगै सडक तथा पुलमा क्षति पुगेको छ भने नदी तथा खोलाको जलसतहसमेत बढेको छ।

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ। बुधबार साँझ बस्तीमाथिबाट खसेको पहिरोले ११ वटा घर बगाउँदा १३ जना पुरिएका थिए। घटनामा तीन जना अझै बेपत्ता रहेको प्रशासनले जनाएको छ।

पहिरोमा परी घाइते भएका दुई जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। दुर्गम क्षेत्रमा घटना भएकाले रातिको समयमा उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको थियो। विद्युत् सेवा अवरुद्ध हुँदा उद्धारमा थप समस्या भएको बताइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्।

यसैगरी, कास्की र पर्वत जोड्ने क्षेत्रमा आएको बाढीले दुईवटा मेटल पुल बगाएको छ। मोदीखोलामा आएको बाढीका कारण अन्नपूर्ण माता मन्दिरको केही भागमा समेत क्षति पुगेको छ। मन्दिरमा रहेका एक पुजारीसहित तीन जनाको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ।

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। लगातारको वर्षाका कारण उद्धार तथा खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
उता, त्रिशूली नदीका विभिन्न जलमापन केन्द्रमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

लगातारको वर्षाले देशभरका सडकसमेत प्रभावित भएका छन्। काभ्रे, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, रुकुम पूर्व र लमजुङका विभिन्न सडकखण्डमा बाढी तथा पहिरोका कारण यातायात प्रभावित भएको छ।

बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमन रोकिएको छ। इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग तथा रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि पहिरो र नदी कटानका कारण प्रभावित भएका छन्। रुकुम र लमजुङका विभिन्न सडकमा समेत पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।

यसैबीच, बाजुराका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै ठूलो संख्यामा बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता औंल्याइएको छ। जिल्लाका नौवटै स्थानीय तह जोखिममा रहेको विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारी योजनाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव अझै कायम छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ भने केही हिमाली तथा पहाडी क्षेत्रमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

लगातार वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहिरोको जोखिमसमेत उच्च रहेकाले जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। प्रशासनले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा नदी, खोला र पहिरो प्रभावित क्षेत्रमा नजान अनुरोध गरेको छ।