सेयर बजारमा ७.३७ अंकको गिरावट, कारोबार रकम ४ अर्ब २७ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.३७ अंकले घटेर २ हजार ६४३.८३ विन्दुमा झरेको छ। बिहीबार नेप्से ९ अंकले बढेको थियो।

परिसूचक घटे पनि शुक्रबार कारोबार रकम भने बढेको छ। बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

शुक्रबार ३४४ वटा कम्पनी तथा धितोपत्रको ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर किनबेच भयो। कुल कारोबार रकम ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँ पुगेको छ।

कारोबारमा आएका धितोपत्रमध्ये १०१ वटाको मूल्य बढ्दा १६४ वटाको मूल्य घटेको छ भने १२ वटा धितोपत्रको मूल्य स्थिर रह्यो।

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यता शिखर खुदी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १२.८३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एग्रिकल्चरल बोण्ड (९ वर्ष) शीर्ष स्थानमा रह्यो। यसको करिब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै खानिखोला हाइड्रोपावरको १७ करोड, लिबर्टी इनर्जीको १६ करोड तथा नगदी ग्रुप पावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १०/१० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

शुक्रबार चार समूहका उपसूचक बढेका छन् भने बाँकी समूहका उपसूचक घटेका छन्। लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहका उपसूचक बढ्दा बाँकी समूह नकारात्मक रहे।

HorizonKhabar @highlight