काठमाडौँ । भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
निर्माण पक्षका अनुसार भदौ ३ देखि ९ गतेसम्म खल्ती एपमार्फत ‘मास्टर्नी’को टिकट खरिद गर्ने दर्शकमध्ये एक भाग्यशालीले BGAUSS इलेक्ट्रिक स्कुटर जित्नेछन्। चलचित्र हेर्न आउने दर्शकलाई थप आकर्षित गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको निर्माण पक्षले जनाएको छ।
चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘एडल्ट’ प्रमाणपत्र दिएको छ। त्यसैले १६ वर्षभन्दा माथिका दर्शकले मात्र चलचित्र हेर्न पाउनेछन्।
आयंका फिल्म्सको प्रस्तुतिमा बनेको ‘मास्टर्नी’ क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा विधामा आधारित चलचित्र हो। चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय छ।
सुवेन्दु घोषको निर्देशनमा बनेको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता छन्।
चलचित्रको छायाङ्कन युवराज इन्दोरियाले गरेका छन् भने सम्पादन राजा सिंह सिदुले गरेका छन्। नेपालमा चलचित्रको वितरण आरआर फिल्म्सले गर्ने जनाइएको छ।






