आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू, पेट्रोल–डिजेल महँगियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य पुनः समायोजन गरेको छ। नयाँ दर सोमबार राति १२:०१ बजेदेखि लागू भएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य ५ रुपैयाँले बढाइएको छ। साथै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले वृद्धि गरिएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

संशोधित मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेल प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। अन्य क्षेत्रका लागि पनि छुट्टाछुट्टै नयाँ दर निर्धारण गरिएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारबाट इन्धन खरिद लागत बढेपछि मूल्य समायोजन गर्नुपरेको हो। मूल्य वृद्धि भए पनि निगमले अझै आर्थिक भार व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ।