विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशमा सरकारको नेतृत्व परिवर्तनलाई लिएर देखिएको आन्तरिक विवाद समाधान गर्ने प्रयास तीव्र बनाइएको छ। सोमबार आयोजित प्रदेश सांसदहरूको बैठकमा पार्टी नेतृत्वले सांसदहरूलाई पार्टीभित्रका विषय सार्वजनिक रूपमा नबोल्न स्पष्ट निर्देशन दिएको छ।
एमालेका सचिव तथा कोसी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीको निर्णय र अध्यक्षको निर्देशनअनुसार नै सरकार नेतृत्व परिवर्तनसम्बन्धी प्रक्रिया अघि बढ्ने बताएका छन्। उनले केही आन्तरिक जटिलता देखिए पनि जिम्मेवार नेताहरूले त्यसको समाधान गर्ने विश्वास व्यक्त गरे।
राईले कोसी प्रदेश सरकारको नेतृत्व एमालेकै हातमा रहने दोहोर्याउँदै आफू र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच व्यक्तिगत विवाद रहेको भन्ने चर्चा निराधार भएको बताए। दुवै नेताबीच लामो समयदेखिको सहकार्य रहेको उल्लेख गर्दै उनले केही दिनमै सहमतिअनुसार प्रक्रिया टुंगिने दाबी गरे।
बैठकमा नेतृत्व परिवर्तनसँग सम्बन्धित विषय समाधान गर्ने जिम्मेवारी शीर्ष नेताहरूलाई नै दिइएको बताइएको छ। त्यसपछि मात्र सांसदहरूसँग थप छलफल गर्ने तयारी गरिएको छ। पछिल्ला दिनमा कार्की र राईबीच मतभेद रहेको चर्चा सार्वजनिक भएपछि एकताको सन्देश दिन बैठक आयोजना गरिएको थियो।
यता मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई पद छाड्न पार्टी अध्यक्ष वा प्रदेश इन्चार्जबाट कुनै औपचारिक निर्देशन नआएको स्पष्ट पारे। आफू अझै संसदीय दलको नेता तथा संविधानको धारा १६८(५) अनुसार विश्वासको मत प्राप्त मुख्यमन्त्री भएकाले तत्काल राजीनामा दिने अवस्था नरहेको उनको भनाइ छ।
कार्कीले सरकार टिकाउन मन्त्री पद बाँड्ने प्रयास भइरहेको भन्ने आरोपको पनि खण्डन गर्दै सरकारको नेतृत्व परिवर्तनका विषयमा बाँकी रहेका प्राविधिक विषयहरू चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।






