मन्त्रिपरिषद्का ४ प्रमुख निर्णय सार्वजनिक, ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुन संशोधनसम्बन्धी ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, खानी तथा खनिज पदार्थ, संक्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालश्रम, आन्तरिक वायुसेवा, मेलमिलाप ऐन तथा कर्मचारी सञ्चय कोषसम्बन्धी विधेयक संसद्मा पेश गरिनेछ।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेटराज दाहाललाई मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यता सञ्चारकर्मीले सुनसरी घटनाबारे मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको हो कि भन्ने प्रश्न गरे पनि सरकारका प्रवक्ता पोखरेलले त्यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।