राष्ट्रिय परिचयपत्र नम्बर वालेटमा अनिवार्य: राष्ट्र बैंकले गर्‍यो नयाँ व्यवस्था

काठमाडौं, साउन ९ — नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउन भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गर्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।

संशोधित व्यवस्थाअनुसार अब भुक्तानी सेवा प्रदायक (वालेट) कम्पनीहरूले नेपाली नागरिकका लागि नयाँ वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्नेछ।

त्यस्तै, वालेट सञ्चालन गरिरहेका सबै प्रयोगकर्ताले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। यसका लागि वालेट कम्पनीहरूले मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्नेछ।

राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न नियमित रूपमा जानकारी गराउनुपर्ने दायित्व पनि सेवा प्रदायकलाई दिइएको छ।

विदेशमा रहेका नेपाली नागरिकले भने आवश्यक कागजातका आधारमा अनलाइनमार्फत वालेट खोल्न सक्ने हालको व्यवस्था यथावत् रहनेछ। तर नेपाल फर्किएको छ महिनाभित्र उनीहरूले सम्बन्धित वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।

यसैगरी, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका लागि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था कायम राखिएको राष्ट्र बैंकले जनाएको छ।