देशभर २९ जिल्लाहरु बाढीको उच्च जोखिममा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ। तर, लगातारको वर्षाका कारण साना नदी र खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ।

जोखिममा रहेका जिल्लाहरू:
काठमाडौँ, भक्तपुर, ललितपुर
खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक
मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा
लमजुङ, कास्की, तनहुँ, स्याङ्जा
रुकुम पूर्व, रुकुम पश्चिम
मुगु, हुम्ला
बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा र डोटी
महाशाखाले भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदीमा बहाव बढ्न सक्ने तथा पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने अनुमान गरेको छ।

विभागले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।