अमेरिका–साउदीबीच ऐतिहासिक आणविक सम्झौता

अन्तर्राष्ट्रिय खबर । संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले नागरिक आणविक ऊर्जा विकासका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्।

अमेरिकी ऊर्जा विभागका अनुसार यो ‘शान्तिपूर्ण आणविक सहयोग सम्झौता’ अन्तर्गत अमेरिकी कम्पनीहरूले साउदी अरेबियाको नागरिक आणविक ऊर्जा कार्यक्रममा व्यापक रूपमा काम गर्न पाउनेछन्।
सम्झौताको पूर्ण विवरण सार्वजनिक नगरिए पनि अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसले भविष्यमा साउदी अरेबियालाई युरेनियम समृद्ध (Enrichment) गर्ने अनुमति दिन सक्ने सम्भावना रहेको छ। समृद्ध युरेनियम आणविक विद्युत् उत्पादनका लागि इन्धनका रूपमा प्रयोग हुने भए पनि यही प्रविधि आणविक हतियार निर्माणमा पनि प्रयोग हुन सक्छ।

यस सम्भावनाले पश्चिम एसियामा आणविक हतियारको प्रसारको जोखिम बढ्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। यदि यस्तो अनुमति दिइयो भने यो अमेरिकाले कुनै खाडी राष्ट्रसँग गरेको पहिलो यस्तो व्यवस्था हुनेछ।

यससँगै अमेरिका र साउदी अरेबियाबीच द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर भएको अमेरिकी ऊर्जा विभागले जनाएको छ।

HorizonKhabar @highlight