बाढीमा ज्यान गुमाएका सन्तोष श्रेष्ठको परिवारलाई ७३ हजार ४९५ रुपैयाँ सहयोग

धादिङ, २९ असोज। भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सिद्धलेक ५ का स्वर्गीय सन्तोष श्रेष्ठको परिवारलाई उहाँका पूर्वसहपाठीहरूले आर्थिक सहयोग गरेका छन्।

नीलकण्ठ बहुमुखी क्याम्पसमा बीएड चौथो वर्ष (२०७९ ब्याच) अध्ययन गरेका साथीहरूले संकलन गरेको ७३ हजार ४९५ रुपैयाँ बिहीबार श्रेष्ठको घरमै पुगेर उहाँका आमाबुबालाई हस्तान्तरण गरेका हुन्।

विपद्का कारण छोरा गुमाउनुपरेको शोकमा रहेका परिवारलाई दुःखको घडीमा केही राहत पुगोस् भन्ने उद्देश्यले पूर्वसहपाठीहरूले रकम संकलन गरी सहयोग गरेका हुन्।

स्वर्गीय श्रेष्ठ अध्ययनका क्रममा मिलनसार, मेहनती, लगनशील र अनुशासित विद्यार्थीका रूपमा परिचित हुनुहुन्थ्यो। पढाइमा अब्बल श्रेष्ठ नेपाल सरकारको शिक्षक सेवामा स्थायी शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँ तिमुरेस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गर्दै आउनुभएको थियो।

शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आफ्नो भविष्य निर्माणको यात्रामा रहनुभएका श्रेष्ठको असामयिक निधनले परिवार, साथीभाइ तथा उहाँसँग परिचित सबैलाई मर्माहत बनाएको छ।

सहपाठीहरूले गरेको सहयोगले आर्थिक राहतसँगै शोकाकुल परिवारलाई भावनात्मक सान्त्वना प्रदान गर्ने अपेक्षा गरिएको छ। दुःखमा एकअर्कालाई साथ दिने मित्रता, आत्मीयता र मानवीय संवेदनाको उदाहरणका रूपमा यस सहयोगलाई लिइएको छ।

स्वर्गीय सन्तोष श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

#HorizonKhabar @highlight