अन्तर्राष्ट्रिय खबर । हर्मुज जलमार्ग क्षेत्रमा व्यापारिक जहाजमाथि आक्रमण भएको घटनापछि अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाले इरानका दक्षिणी क्षेत्रमा लक्षित हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणबाट क्युशम टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा विस्फोट भएको बताइएको छ। इरानी सञ्चारमाध्यमका अनुसार केही व्यक्ति घाइते भएका छन्, तर मानवीय क्षतिको आधिकारिक पुष्टि भने भएको छैन।
अमेरिकी सेन्ट्रल कमान्डले अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप कारबाही गरिएको जनाएको छ। उता, इरानले भने यो कदम हालै सम्पन्न दुई देशबीचको समझदारीको उल्लङ्घन भएको आरोप लगाउँदै यसको उचित जवाफ दिने चेतावनी दिएको छ।
यसअघि अमेरिका–इरानबीच भएको १४ बुँदे सहमतिपछि केही आर्थिक प्रतिबन्ध खुकुलो बनाइएको थियो। तर पछिल्लो घटनापछि अमेरिकाले इरानलाई दिइएको तेल कारोबारसम्बन्धी छुट पनि रद्द गरेको बताइएको छ।
खाडी क्षेत्रका कतार र साउदी अरेबियाले पनि आफ्ना तेल ट्याङ्कर लक्षित आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन्।
हर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले यस क्षेत्रमा बढ्दो सैन्य तनावले अन्तर्राष्ट्रिय बजार र क्षेत्रीय सुरक्षामा असर पर्ने चिन्ता बढेको छ।






