आर्थिक खबर । धेरैको बुझाइमा सेयर बजारमा लगानी गर्न ठूलो पुँजी आवश्यक पर्छ। तर हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत केही कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब २०० रुपैयाँ आसपासमा झरेकाले करिब २ हजार रुपैयाँबाटै सेयर लगानी सुरु गर्न सकिने अवस्था बनेको छ।
हाल दोस्रो बजारमा कारोबार भइरहेका केही कम्पनीको सेयर मूल्य १९४ रुपैयाँदेखि २२३ रुपैयाँसम्म रहेको छ। यस्तो अवस्थामा न्यूनतम १० कित्ता सेयर खरिद गर्दा ब्रोकर सेवा शुल्क, धितोपत्र बोर्ड शुल्क तथा क्लियरिङ शुल्कसमेत जोडेर करिब १ हजार ९७३ रुपैयाँदेखि २ हजार २३९ रुपैयाँसम्म खर्च हुने देखिएको छ।
बजारमा मूल्य घटेका कारण नयाँ लगानीकर्तालाई कम लागतमा सेयर बजारमा प्रवेश गर्ने अवसर सिर्जना भएको विश्लेषण गरिएको छ। नियमित रूपमा सानो–सानो रकम लगानी गर्दै दीर्घकालीन पोर्टफोलियो निर्माण गर्न चाहनेका लागि अहिलेको अवस्था उपयोगी हुन सक्ने बताइएको छ।
यद्यपि, सेयर बजारमा नाफा सुनिश्चित नहुने भएकाले सस्तो मूल्य देखेर मात्र लगानी गर्नु उचित नहुने विज्ञहरूको सुझाव छ। कम्पनीको वित्तीय अवस्था, नाफा, लाभांश क्षमता, भविष्यको व्यावसायिक सम्भावना तथा आफ्नै लगानी उद्देश्यको मूल्यांकन गरेर मात्रै निर्णय गर्नुपर्ने उनीहरूको भनाइ छ।
पछिल्ला केही महिनादेखि नेप्से परिसूचक दबाबमा रहँदा धेरै कम्पनीको सेयर मूल्य घटेको छ। त्यसैले बजारको दिशा निश्चित रूपमा अनुमान गर्न नसकिने भएकाले एकैपटक ठूलो रकम लगानी गर्नुको सट्टा चरणबद्ध रूपमा लगानी गर्नु बढी सुरक्षित मानिन्छ।





